बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नम्बर ५ मा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ । कनकाई–५ नारायणदल चोकमा अस्थायी बसोबास गर्ने बर्षीया मनिषा लिम्बु मग्रान्तीको हत्या भएको हो ।

ताप्लेजुङ जिल्ला सिनाम घर भई नारायणदल चोकस्थित योगेन्द्र बस्यालको घरमा केहि महिनादेखि भाडामा बस्दै आएका ३९ बर्षीय लालबहादुर सार्कीले श्रीमती मनिषाको हत्या गरी आत्महत्या प्रयास गरेका छन् । लालबहादुरको घाँटीमा गम्भीर चोट लागेको र उपचारका लागि बिएण्डसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आफ्नै जातिका पुरुषसँग पहिलो विवाह गरेकी मनिषाले पूर्व श्रीमानसँग बोलेको निहुँमा लालबहादुरले आफू बस्ने कोठामा झुण्डाएका थिए । कोठामा सलको पासो लागेको, मनिषाको शरिरमा कुनै चोट नदेखिएको प्रहरीले जनाएको छ । त्यसपछि खुकुरीले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेका हुन् । लालबहादुरको समेत जेठी श्रीमतीसहित परिवार रहेको बुझिएको छ ।