बिर्तामाेड । झापा प्रहरीले जिल्लाका दुई स्थानबाट भारतबाट भन्सार छलेर नेपाल भित्र्याएकाे २२ लाखकाे सामग्रीसहित एउटा पिकअप नियन्त्रणमा लिएकाे छ ।

गएराति ८ बजे भद्रपुर नगरपालिका वडा नम्वर ९ मा भारतवाट नेपालतर्फ भन्सार छलेर बा १८ च ४६१६ नम्वरको पिकअपमा ल्याउँदै गरेको मोवाइल फोनको पार्टस २० कार्टुन अन्दाजी ४ लाख बराबरको सामानसहित पिकअप नियन्त्रणमा लिएकाे हाे ।

पिकअप चालक भद्रपुर ५ वस्ने राहुल कामतलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पिकअप र सामानसहित कामतलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए ।

त्यस्तै गएराति अन्दाजी १० बजे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले अर्जुनधारा– ६ छाताचौकमा बेबारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको अन्दाजी १८ लाख १० हजार २५० बराबरको अबैध सामान बरामद गरिएको छ । मोबाइल र मोबाइल पार्टस बरामद भएको जनाइएको छ ।