बिर्तामाेड । झापाको गौरादहमा बहर गोरु काटेको अभियाेगमा एक महिलासहित ५ जना पक्राउ परेका छन् । उनीहरुलाई गएराती मासुसहित प्रहरीले पक्राउ गरेकाे हाे ।
गएराति १ बजेतिर गौरादह नगरपालिका-१ क्रसर उद्योग छेउमा बहर काटिसकेर मासु बोरामा हालेर घरतर्फ जाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा गौरादह –१ बस्ने शंकर लिम्बू, भागीप्रसाद नेम्वाङ, तिलबहादुर नेम्वाङ, जितबहादुर नेम्वाङ र सुकमती नेम्वाङ रहेका छन् ।
गोरुको मासु बोरामा हालेर लाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी सोधपुछ गर्दा उनीहरुले गौरादह –१ बेलडाँगी पानीट्याङ्की छेउ बस्ने शंकर लिम्बूको घरमा बहर काटेर मासु ल्याएको बताएका थिए । त्यसपछि लिम्बूको घरमा गएर हेर्दा निलो प्लाष्टिक ओछ्याई बोरा, डोको र सेतो बाल्टीमा बहरको टाउको, खुट्टा, छाला, अण्डकोष फेला परेको थियो ।
अन्दाजी १५० केजी बहरको मासुसहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















