बिर्तामोड । मेचीनगर–७, जोरसिमलबाट सशस्त्र प्रहरीले १४ लाख ९९ हजार ७ सय अवैध भारतीय रुपैयाँसहित मोरङ उर्लाबारीका एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीले मोरङको उर्लाबारी नगरपालिका-८ का ३८ बर्षका डम्बरबहादुर कार्कीलाई अबैद्य भारुसहित नियन्त्रणमा लिएको जनाएको छ ।

झापाको काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा आज बिहान १० बजे उक्त रकम फेला परेको हो। उक्त भारतीय रुपैँयाको नेपाली मूल्य करिब २३ लाख ९९ हजार ५२० हुन्छ ।  बरामद नगदसहित उनलाई आन्तरिक राजस्व कार्यालय, इटहरीमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी झापाका प्रवक्ता सुमन पोखरलले जानकारी दिए ।

नेपालमा भारतीय ५०० रुपैया प्रतिबन्धित गरिएको भएपनि यसको प्रयोग भने सहजै हुने गरेको पाइएको छ ।