बिर्तामोड । झापा प्रहरीले दुईजना भारतीय निर्यातकर्तासहित दमकमा बसेर लागूऔषध ब्राउन सुगरको डिलर सञ्चालन गर्दै आएका एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुबाट एउटा नेपाली नम्बर प्लेटको कार, भारतीय नम्बर प्लेटको मोटरसाइकल, नगद, विभिन्न कम्पनीका मोबाइल फोन, लागूऔषध तौलिने तराजु र १०० ग्राम भन्दा बढी लागूऔषध ब्राउन सुगर बरामद गरेको जनाएको छ ।

IMG-20250515-WA0002

हिजो साँझ साढे ५ बजेको समयमा गौरीगञ्ज गाउँपालिका-३ गौरीगञ्ज बजारमा बिआर ३७ एजे ९९५२ नम्बरको भारतीय मोटरसाईकललाई प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक भारतको किसनगञ्ज जिल्ला खनियाबा -७ फुलबरिया बस्ने मोनाजिर आलम पक्राउ परेका थिए ।

IMG-20250515-WA0004

उनको साथबाट बरामद भएको मोबाईलमा भारतीय नम्वरबाट लागुऔषधको भिडियो पठाएको भेटिएको थियो । उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागुऔषध भारतको किसनगञ्ज जिल्ला खननियाबाद-५ फत्तेपुर बस्ने बर्ष भोला ठाकुर संग रहेको जानकारी गराएका थिए ।

प्रहरीले उनकै सुचनाका आधारमा ठाकुरलाई गौरिगञ्ज -३ बाट पक्राउ गरेको छ । ठाकुरको साथबाट १०० ग्राम ९० मिलिग्राम लागूऔषध ब्राउन सुगर, निट्राजेपाम ट्याबलेट १० पत्ता, र सोडिन फोस्फेट एण्ड ट्रिप्रोलिडाइन हाइड्रोक्लोराईड सिरप २ बोतल बरामद गरेको थियो ।

त्यसपछि प्रहरीले उक्त लागुऔषध खरिद गर्न आउने दमक नगरपालिका-५ का संजय भन्ने भुपेन्द्र राईलाई पक्राउ गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा राईले दमकमा लागूऔषध ब्राउन सुगरको डिलर सञ्चालन गरेको खुलेको छ ।

राईको साथबाट ना १ च ९१६२ नं को कार, लागुऔषध खरिद गर्न बोकेको नगद २ लाख ४३ हजार ५०० रुपैया, आईफोन मोवाईल २ थान, कारभित्र लागुऔषध नापतौल गर्न प्रयोग गर्ने डिजिटल तराजु १ थान बरामद गरेको छ । तीन जना माथि नै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।