बिर्तामोड । झापाको अर्जुनधारा–४ भाङबारीमा रहेको अर्जुनधारा माबीका प्रधानाध्यापकले माईन्युट किर्ते गरेर सञ्चारकर्मीलाई तर्साउन खोजेकी छन् । नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्यसमेत रहेका ईन्द्रकुमार राईलाई प्रअ बेदमाया निरौलाले बिद्यालयको माइन्यु्ट किर्ते गरेर तर्साउन खोजेकी हुन् ।
प्रधानाध्यापक नियुक्तिको बिषयलाई लिएर सञ्चारकर्मी राईले सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । उनले योग्यता नपुगेको प्रअ भएका कारण सो बिद्यालयको शैक्षिक गुणस्तर खस्केकोसमेत आरोप लगाएका थिए । उनले सामाजिक सञ्जालमा बैशाख २४ गते फेसबुकमा स्टाटस लेख्दै नगरपालिकाको शिक्षा शाखालाई यो बिषयमा ध्यानाकर्षण गराएका थिए ।
निमावी तहको शिक्षक माबी तहको प्रधानाध्यापक हुन नसक्ने सञ्चारकर्मी राईको धारणा स्टाटसमा देख्न पाइन्छ । उनको पोष्टप्रति आपत्ति जनाउँदै बिद्यालयका प्रअले कानुनी उपचार खोज्ने बताएकी थिइन् ।
बिद्यालय ब्यवस्थापन समितिको बैठकमा राईलाई स्टाटस सच्याउन लगाउने मौखिक कुराकानी भएको बताउँदै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकदेब खनालले खेद प्रस्ताब पारित गर्ने निर्णय नभएको जानकारी दिए । उनले पत्रकार राईसँगको सानो असमझदारीलाई छलफलबाट समाधान गर्ने कुराकानी मात्र भएको बताए ।
तर, प्रधानाध्यापक बेदमाया निरौलाले पुरानो माइन्युटमा ‘राईले सामाजिक सञ्जालमा बिद्यालयमाथी नकारात्मक टिप्पणी गरेर बिद्यालयको छविमा आँच आएको उल्लेख गरिएको छ । राईले कपोलकल्पित तथा भ्रामक तथ्य पोष्ट गरेको भन्दै माइन्युटमा ‘घोर भत्र्सना’ गछौं्र, भनिएको छ । माइन्युटमा पोष्ट हटाउन आग्रह गर्दै अन्यथा कानुनी उपचार खोज्ने चेतावनी दिइएको छ ।
बिद्यालयले राईलाई बिद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै बैशाख २६ गते काटेको पत्र जेठ १ गते थमाएको छ । तर, उनले बिद्यालयको छविमा आँच आउने स्टाटस लेखेको भन्दै गत माघ ७ गतेको निर्णयमा पाना थपेर टाँस गरिएको छ ।
राईले प्रअ निरौलाले एउटा गल्ती छोप्न बिद्यालयको माइन्युट किर्ते गरेको बताए । उनले योग्यता नपुगेका प्रअले अर्काे अयोग्य काम गरेको भन्दै कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । उनले बिद्यालयको माइन्युट तथा लेटरप्याड दुरुपयोग गर्ने प्रअलाई हटाएर अर्काे प्रअ नियुक्त गर्न माग पनि गरेका छन् ।





















