बिर्तामाेड । झापा प्रहरीले बिर्तामाेडबाट हालसम्मकै ठुलाे परिमाणमा लागूऔषध बरामद गरेकाे छ । बिषेश सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामाेड नगरपालिका-५ मा भण्डारण गरेर राखेकाे ठुलाे परिमाणमा लागूऔषध बरामद गरेकाे हाे । 
Messenger_creation_3CAD8F72-1A0F-4BEF-A663-6D714A4B62A3
बरामद गरेकाे लागूऔषधसहित काराेबारमा संलग्न अर्जुनधारा नगरपालिका-६ का बिनाेद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेकाे छ । प्रहरीले घिमिरेले प्रयाेग गर्दै आएकाे यामाहा कम्पनीको प्र. १-०१-०१३ प ८९०४ नम्बरको मोटरसाईकल, दुईवटा माेवाइल सेट पनि बरामद गरेकाे जनाएकाे छ । 
Messenger_creation_70FF021B-CCEF-43FA-9EB6-47CE4422E0C2
लागूऔषधका मुख्य काराेबारीसमेत रहेका बिर्तामाेडकाे सनलाईट फर्मा सञ्चालक भानुभक्त खरेल रहेकाे प्रहरीले जनाएकाे छ । उनी फरार रहेका छन् । घिमिरे उनकाे काराेबार हेर्ने काराेबारी रहेकाे प्रहरीकाे अनुसंधानमा खुलेकाे छ । 
प्रहरीले २ लाख २१ हजार ४०० वटा ट्याब्लेट र १ हजार ८७० एम्पुल लागूऔषध बरामद गरेकाे जनाएकाे छ । जसमा ट्रामाडाेल हाइड्राेक्लाेराइड क्याप्सुल १ लाख ३ हजार ८०० ट्याब्लेट, ट्रामाडाेल एण्ड एसेमिनाेफेन ४ हजार ५० ट्याब्लेड, डाइक्लाेमाइन एचसिएल ९७ हजार ट्याबलेट, जेनेग्रा रेड ८ हजार ९०० ट्याब्लेड, टेर्म्पिल किट्स ७ हजार ६५० ट्याबलेड र ट्रामाडाेल हाइड्राेक्लाेराइड इन्जेक्सन १ हजार ८७० एम्पुल बरामद गरेकाे जनाएकाे छ । 
झापाका बरामद भएकाे लागूऔषध अहिलेसम्मकै ठुलाे परिमाणकाे भएकाे दावी प्रहरीकाे छ । बरामद भएकाे कतिपय लागूऔषध नेपालमा पूर्ण रुपमा खरीद बिक्री तथा ओसार पसारमा प्रतिबन्ध रहेकाे जनाइएकाे छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बुले लागूऔषध नियन्त्रण गर्नका लागि चुनाैतीका बीच सफलता पाएकाे बताए ।