बिर्तामोड । तीन दिनअघि सुनसरीको झुम्का कारागारबाट फरार भएका कैदी आज बिहान बिर्तामोडमा पक्राउ परेका छन् ।

सुनसरी कारागारबाट पर्खाल नाघेर फरार भएका जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका खोटाङको चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल (खत्री) आज बिहान बिर्तामोड १० स्थित विराटपोखरबाट पक्राउ परेका हुन् ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा बिर्तामोड नगरपालिका-१० बिराटपोखरमा लुकिछिपि बसिरहेको अवस्थामा उनलाई बिहान ६ बजे पक्राउ गर्न सफल भएको झापा प्रहरीका  सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।

पौडेल विराटपोखरस्थित आफन्तको घरमा लुकेर बसेको राति नै प्रहरीले सूचना पाएको थियो । राति पक्राउ गर्न खोज्दा उनी भागेका थिए । रातिदेखिको प्रयासमा उनलाई विहानीपख पक्राउ गर्न सफल भएको डीएसपी खड्काले बताए । थप अनुसन्धानको लागि उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको छ ।

जबरजस्ती करणी (बलात्कार) मुद्दामा सजाय तोकिएका पौडेल झुम्का कारागारबाट फरार भएपछि छानबिन समिति गठन गरिएको थियो ।