बिर्तामोड । बिर्तामाेडबाट फेरि एकजना औषधी व्यवसायी लागूऔषधसहित पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका-२ चैतुबारीस्थित दिवाकर फर्माका सञ्चालक किरण राजवंशी लागूऔषधसहित पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राजवंशीले सञ्चालन गरेकाे दिवाकर फर्माबाट ट्रामाडोल ३००० क्याप्सुल र प्रेजेक्स=७५ लेखिएको ३०० क्याप्सुल लागूऔषध बरामद भएकाे छ ।

सो पसलमा लागूऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडकाे टोलीले छापा मारेको थियो । पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि बिर्तामाेडबाट ठुलाे परिमाणमा लागूऔषधसहित दुईजना फार्मेसी सञ्चालक पक्राउ परेका थिए भने एकजना हालसम्म फरार रहेका छन् ।