झापा । माेरङकाे सुनवर्षी नगरपालिका-९ भेरुवाथानबाट लागूऔषध काराेबारीलाई नियन्त्रणमा लिने क्रममा दुईजना प्रहरी घाइते भएका छन् । 

घाइते हुनेहरुमा प्रहरी चौकी घुर्मी उदयपुर दरबन्दी भएका प्रहरी सहायक हवल्दार धर्मध्वज कार्की र उच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई फैसला कार्यान्वयन इलाम दरबन्दी भएका प्रहरी सहायक हवल्दार किरण अधिकारी रहेका छन् ।

भेरुवाथानकाे भित्री रोडमा इलाका प्रहरी कार्यालय रंगेलीकाे टोलीले बीआर ११ भी ६७३४ नं. को भारतीय मोटरसाइकलमा सवार दुई जनामाथि शंका लागेर रोक्न खोज्दा नरोकेपछि प्र.१–०२–०४५ प ३३९२ नं. को मोटरसाइकलमा चढेर पिछा गर्दै जाँदा दुई वटै मोटरसाइकल ठक्कर खाई धानवारीमा लड्दा दुईजना प्रहरी घाइते भएका हुन् ।

घाइते भएका दुबै प्रहरीहरु रंगेली अस्पताल रंगेलीमा उपचारपश्चात् डिस्चार्ज भएका छन् ।  उक्त भारतीय मोटरसाइकलमा सवार मानिसहरु फरार भएका छन् भने मोटरसाइकलबाट ट्रामाडोल क्याप्सुल फेला परेको प्रहरीले जनाएकाे छ ।