झापा । ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध कारोबार गर्ने एक युवकलाई प्रहरीले ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार राती ईनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गबाट ठूलो परिणामको ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
भारतको बिरपुरबाट लागू औषध लिएर आउदै गरेका इनरुवा–४ बस्ने ३३ वर्षीय कृष्णकुमार मेहता मोटरसाइकलमा पछाडि सवार अवस्थामा आएका थिए। प्रहरीलाई देखेपछि उनले मोटरसाइकलबाट फाल हानि भाग्ने प्रयास गरेपनि नियन्त्रणमा परेका डिएसपी योगराज खतिवडाले बताए ।
प्रहरीले चेकजाँच गर्दा उनको झोलामा छुट्टाछुट्टै तीन वटा प्लास्टिकमा लुकाइ–छिपाइ राखिएको अवस्थामा जम्मा १९७.६१ ग्राम लागू औषध ‘ब्राउन सुगर’ बरामद गरेको उनले जानकारी दिए ।
बरामद गरिएको पदार्थसहित मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान थालिएको डिएसपी खतिवडाले जानकारी दिए।
त्यस्तै, घटनास्थलबाट भाग्न सफल मोटरसाइकल चालकको पहिचान र खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

















