बिर्तामोड । जेनजी आन्दोलनका नाममा आपराधिक समुहद्वारा लुटिएका एसएलआरको ५५ राउण्ड गोली झापाको कमल गाउँपालिकामा फेला परेको छ ।
हिजो साँझ ७ बजे कमल गाउँपालिका– ७ रङ्गपुरका ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले केराको पात काट्ने क्रममा आफ्नो खेतबारीमा सेतो बोरामा गोली फेला पारेका हुन्। उनले बोरा खोली हेर्दा गोली रहेकाले प्रहरीलाई खबर गरेका थिए।
आज बिहान इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी निरीक्षक नवीन राईको टोलीले एसएलआरको गोली ७.६२ एमएम ५५ राउण्ड बुझेको थियो । ती गोली इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार, ५६९० वटा गोली र १८० सेल अश्रुग्याँस हालसम्म गायब छ । आन्दोलनकारीहरूले इलाका प्रहरी कार्यालय बिर्तामोड र इलाका प्रहरी कार्यालय दमकबाट लुटेका विभिन्न हतियार फिर्ता गरे पनि त्यति हतियार फिर्ता नगरेको प्रहरी स्रोतले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका लामो हतियार (एसएलआरलगायत)–१४ थान र त्यसको गोली ४ हजारभन्दा बढी, सानो हतियार (पेस्तोल–रिभल्भर)– २ थान र त्यसमा लोड गरिएको ४० राउण्ड गोली, सर्ट गन र ग्याँस गन– ४ थान र त्यसको १८० सेल ग्याँस फिर्ता गरिएको छैन ।
त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका लामो नाल (एसएलआर)– १ थान र त्यसको १५०० भन्दा बढी गोली, सानो हतियार (पेस्तोल–रिभल्भर)–३ थान र त्यसमा प्रयोग हुने १५० भन्दा बढी राउण्ड गोली फिर्ता नगरी गायब बनाइएको प्रहरी स्रोतले जनाएको छ । मानवअधिकारवादीहरूको रोहवरमा आन्दोलनकारीहरूले फिर्ता गरेको ८५ थान हतियार चारआलीस्थित अरिदमन गणले प्रहरीलाई जिम्मा लगाएको थियो ।

















