झापा । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको  गाेली हानेर हत्या भएको छ ।

७३ वर्षीय पुजारी रामदुलार साहको आज बिहान अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारी परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।

गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युँमा गोली प्रहार गरेर हत्या गरेको स्थानीयको भनाइ छ । घटना भएको जानकारी पाएलगत्तै स्थानीयले स्थानीय प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ । घटनास्थलमा गोलीका दुईवटा खोका फेलापरेको प्रहरीले जनाएको छ ।