विराटनगर । मोरङमा गाँजा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिन प्रहरीले मध्यरातमा हवाई फायर गर्नुपरेको छ । नेपाल–भारत सीमा क्षेत्र नजिकबाट ३३० केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

शनिबार राति करिब १०ः३० बजेतिर जहदा गाउँपालिका–२ मा गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि मोरङका एसपी कवित कटवालको निर्देशनमा जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो ।

टोली घटनास्थलमा पुग्दा गाँजाको बोरा बोकेर भारततर्फ लैजाँदै गरेको देखिएको प्रहरीको भनाइ छ । प्रहरीलाई देख्नासाथ कारोबारीहरू गाँजाको बोरा फालेर फरार हुन खोजेपछि नियन्त्रणका लागि प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो ।

हवाई फायरपछि प्रहरीले भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गर्न सफल भएको छ । उनीहरूको साथबाट ३३० केजी गाँजा बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको छ ।