झापा । तस्करीकाे सामान नियन्त्रण गर्न गएकाे प्रहरीसँगकाे दाेहाेराे भिडन्तमा सिटी सफारी चालककाे मृत्यु भएपछि आक्राेशित स्थानीयले लाैकहीमा रहेकाे सशस्त्र प्रहरीकाे अस्थायी चेकपाेष्टमा आगजनी गरेका छन् । 

हिजाे राती तस्करीकाे सामान नियन्त्रण गर्ने क्रममा साेही स्थानकाे यादव टाेलमा तस्कर समूह र सशस्त्र प्रहरीबीच दाेहाेराे भिडन्त भएकाे थियाे । 

प्रहरीले जवाफी कारवाही गर्दा साेही स्थानका बिजय शाहकाे मृत्यु भएकाे थियाे । उनी भारतबाट ल्याउँदै गरेकाे चिनी लाेड गरिएकाे सिटी सफारी चालक हुन् । 

उनकाे मृत्यु भएपछि आक्राेशित स्थानीयले सशस्त्र प्रहरीकाे बाेर्डर आउट पाेष्ट, इलाका प्रहरी कार्यालयमा ढुङ्गा मुडा गर्नुका साथै लाैकहीमा रहेकाे सशस्त्र प्रहरीकाे अस्थायी पाेष्टमा आगजनी गरेकाे प्रहरीले जनाएकाे छ । 

अहिले पनि उत्तेजित भिडले प्रहरीमाथि आक्रमण गरिरहेकाे हुँदा नियन्त्रणकाे लागि थप प्रहरी परिचालन गरिएकाे प्रहरीस्राेतले जनाएकाे छ । प्रदर्शनकारीहरूले मृतकको शव राजमार्गमै राखेर सशस्त्र प्रहरीको विरोधमा चर्को नाराबाजी गरिरहेका छन् ।

राजमार्ग अवरुद्ध हुँदा सयौँको सङ्ख्यामा सवारी साधनहरू र यात्रुहरू बीच बाटोमै रोकिएका छन् । शव सडकमा राखेर भइरहेको प्रदर्शनका कारण लौकही क्षेत्रको अवस्था अहिले निकै तनावपूर्ण छ । स्थिति नियन्त्रणमा लिन र राजमार्ग सुचारु गराउन ठुलो सङ्ख्यामा जनपद प्रहरी परिचालन गरिएको छ । स्थानीय प्रशासनले प्रदर्शनकारीसँग वार्ताको प्रयास गरिरहेको जनाएको छ ।