बिर्तामाेड । घाँटीमा केमिकल प्रयाेग गरिएकाे सिरिञ्ज राेपेर हत्या भएकाे घटनाका अभियुक्त मृतककाे छाेरीसँग जाेडिएका छन् । भद्रपुर नगरपालिका-१० त्रिवेणी टाेलमा हिजाे साँझ खेमराज ढकालकाे घाँटीमा केमिकल मिसिएकाे सिरिञ्ज राेपेर हत्या गरिएकाे थियाे ।
प्रहरीले हत्यामा संलग्न भएकाे अभियाेगमा सिरहाकाे बिष्णुपुर गाउंपालिका-१ स्थायी घर भई हाल बि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा एमबिबिएस चौथो वर्षमा अध्ययनरत वर्ष २६ को दिपेश कुमार सिंहलाई घटनास्थलबाटै पक्राउ गरेकाे थियाे ।
घटनामा गम्भीर घाइते भएका ढकालकाे ओम साई अस्पताल भद्रपुरमा उपचारका लागि लगिएकाेमा चिकित्सकले चेकजाँच गर्दा मृत घाेषित गरेका थिए । सिरिञ्जमा कुन केमिकल मिसाइएकाे थियाे भन्ने चाहि ल्याब परीक्षणबाट मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्रकाले जानकारी दिए ।
प्रहरीका अनुसार अभियुक्त सिंहले सोहि दिन बिहान मृतक खेमराज ढकालको घर पत्ता लगाई अवकाश प्राप्त शिक्षक चाहिएको छ खोजिदिनुपर्यो भनि बहाना बनाई घरमा आएका थिए ।
मृतक ढकालका छोरी पनि बि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा एमबिबिएस तेश्रो वर्षमा अध्ययनरत रहेपनि सामान्य चिनाजान रहेको बताइएकाे छ । करिव १ बर्ष अगाडि पनि उनकाे बदनाम गर्ने नियतले फोटोहरु इडिट गरि पठाउने गरेकोमा अभियुक्तको बिरुद्ध ईप्रका धरानमा उजुरी गरेको पीडितले बताएका छन् ।
पक्राउ परेका अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ को कर्तब्य ज्यान सम्बन्धी कसूर अन्तर्गत कार्वाहीका लागि थप अनुसंधान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

















