बिर्तामोड । हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिने भन्दै रकम ठगी गरेकाे आरोपमा झापामा दुई जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय दमकका अनुसार झापाकाे कमल गाउँपालिका–६ गुवाबारीस्थित सडकखण्डबाट अवैध लागूऔषध (खैरो हिरोइन) सहित पक्राउ परेका लक्ष्मण राजवंशीविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत अनुसन्धान भइरहेको थियो।
यसै क्रममा उनलाई हिरासतबाट छुटाइदिने भन्दै विश्वासमा पारी उनका दाजु कमल गाउँपालिका–६ मैनाखत टोल निवासी रामप्रसाद राजवंशीबाट १ लाख ५० हजार रुपैयाँ ठगी गरिएको पाइएको प्रहरीले जनाएको छ।
ठगीमा संलग्न रहेको आरोपमा दमक नगरपालिका–९ जिम्मादार चोक बस्ने अरुण दनुवार र कमल गाउँपालिका–६ खैरबारी बस्ने सुमन खड्का पक्राउ परेका छन्।
पीडितले दिएको सूचनाका आधारमा उनीहरूलाई फागुन ८ गते पक्राउ गरिएको हो। पक्राउ परेका दुवै जनामाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक लाभसम्बन्धी कसूरमा जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















