बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका-११ शान्तीमार्गस्थित देउनिया–सालवारी भित्री सडक खण्डमा चलिरहेको कारमा अज्ञात व्यक्तिहरुले आक्रमण गरेका छन्।
बिर्तामोडबाट कालीझोडातर्फ जाँदै गरेको बा.९ च. ४२१९ नम्बरको कारमा एक्कासी तीन जना अपरिचित व्यक्तिहरुले खुकुरी प्रहार गर्दा चालक साइडको सिसा पूर्ण रूपमा फुटेको प्रहरीले जनाएको छ।
घटनापछि कार चालक दमक नगरपालिका-२ बस्ने निमा शेर्पाले राति १० बजे इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रसनि नवराज आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको र सिसा फुटाउने व्यक्तिहरुको पहिचान तथा खोजतलास कार्य जारी रहेको जनाएको छ।
यस घटनामा चालक भने सकुशल रहेको र कुनै शारीरिक क्षति नभएको प्रहरीले जनाएको छ।

















