बिर्तामोड । झापाको भद्रपुर क्षेत्रमा प्रहरीले लागुऔषधसहित बिर्तामोडका चार जनालाई नियन्त्रणमा लिएको छ।

हिजो अपराह्न करिब ३:०० बजे भद्रपुर नगरपालिका वडा नं. ४ डाँगीबारीमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जनालाई शंकाको आधारमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्लास्टिकसहित ३ ग्राम २३० मिलिग्राम तथा प्लास्टिकबाहेक ३ ग्राम ०१० मिलिग्राम लागुऔषध फेला परेको हो। यसरी पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–७ का २८ वर्षीय अजय ऋषिदेब, वडा नं. ३ शैनिकमोडका २७ वर्षीय रस्को मुर्मु र सोही वडाको हर्कलाल मार्ग बस्ने ३२ वर्षीय सरोज कार्की रहेका छन्।

त्यसैगरी, सोही दिन अपराह्न करिब २:३० बजे भद्रपुर नगरपालिका वडा नं. ५ राजन चोकबाट प्रहरीले अर्को एक जनालाई पनि लागुऔषधसहित नियन्त्रणमा लिएको छ। भारत पश्चिम बंगाल दिनासपुर घर भई हाल बिर्तामोड–६ स्यालडाँगी बस्दै आएका ३३ वर्षीय मो. जाबिर आलमलाई चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर जस्तो पदार्थ बरामद भएको हो।

उनको साथबाट प्लास्टिकसहित ५ ग्राम ९८० मिलिग्राम तथा प्लास्टिकबाहेक ५ ग्राम ६२० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।