बिर्तामोड । झापाको भद्रपुर नगरपालिका–५ नरसिङ बगान क्षेत्रमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

हिजो साँझ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१२ प ४७१५ नम्बरको स्कुटीलाई शंका लागी जाँच गरेको थियो।

जाँचका क्रममा स्कुटी चालक मेचीनगर नगरपालिका–१२ बस्ने सन्तोष लिम्बु, पछाडि सवार भद्रपुर नगरपालिका–११ बस्ने ओम नारायण मण्डल र अर्का सवार अर्जुनधारा नगरपालिका–११ बस्ने पुजन कुमार खनाललाई नियन्त्रणमा लिइएको हो।

उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने लागुऔषध ५ ग्राम ७० मिलिग्राम (प्लास्टिक बाहेक ५ ग्राम २७० मिलिग्राम) बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जना र स्कुटीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।