बिर्तामाेड । झापामा पहिलो पटक बिर्तामोडको गोमेन्द्र कलेजले पत्रकारिता र कम्प्युटर विज्ञानको एमबीए र एमसीएका कक्षा सञ्चालन गर्ने भएको छ । कलेजले पुर्वाञ्चल बिश्वबिद्यालयसँग कक्षा सञ्चालनको लागि अनुमति लिएको जनाएको छ ।
साविक मेची अंचलमा पहिलो पटक एमबीए र एमसीएका कक्षा कलेजले सञ्चालन गरेको हो । पूर्वाञ्चल विश्व विद्यालयबाट सम्वन्धन प्राप्त यस कलेजले यस शैक्षिक सत्रका लागि ३३÷३३ जनाको दरले दुईवटा फ्याकल्टीमा विद्यार्थी अध्ययन गराउने भएको हो ।
काठमाडौं र विराटनगरको तुलनामा आधा शुल्कमा कलेजले स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्न लागेको पत्रकार सम्मेलनको आयोजना गरी कलेजका प्राचार्य डा रुपक खनालले बताए । स्नातकोत्तर तहका लागि विभागीय प्रमुखमा प्रा डा पृथ्बी राईको नेतृत्व रहने जनाइएको छ ।
त्यस्तै एमवीएतर्फ विमल राजवंशी र एमसीएतर्फ सुनिल शर्माको संयोजकत्वमा कक्षा सञ्चालन हुने छन् । कलेजमा पीएचडी तथा एमफिल गरेका प्राध्यापकहरुले अध्यापन गराउने बताइएको छ ।
२०५३ सालमा स्थापित कलेजले शुरुका वर्ष उच्च माध्यमिक शिक्षा परिषद्बाट स्वीकृति लिई कक्षा ११ र १२ सञ्चालन गरेको थियो । त्यसपछि कलेजले २०५६ सालबाट विज्ञान तथा प्रविधि संकायतर्फ बीसीए र २०६२ सालबाट व्यवस्थापन संकायतर्फ बीबीएको पठनपाठन गराउँदै आएको छ । पत्रकार सम्मेलनमा कलेजका संस्थापक गणेशप्रसाद खनाल, वुध खनाल, सह प्राचार्य सरु खनाल, कलेजका शिक्षक शेखर पाण्डेलगायतको आतिथ्य रहेको थियो ।



















