अर्जुनधारा । झापाको अर्जुनधारामा खाना नपकाएको निहुँमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
अरुण गाउँपालिक–१ घर भई अर्जुनधारा ९ खरबन्दी चोक बस्ने विश्वराज घिसिङले कान्छी श्रीमती ३६ बर्षीया प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् ।
पुष २६ गते मंगलबार साँझ साढे सात बजे घर बनाउने मिस्त्रीको काम गर्ने विश्वराज घरमा उपचारका लागि पहाडबाट आमासमेत आएको भन्दै मासु लिएर घर जाँदा विहानदेखिको भाँडा नमाझेको, बेलुकाको खानापनि नपकाएको र रक्सी खाएर मातेको भन्दै श्रीमतीलाई पेट र छातीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या अभियोगमा प्रहरीले विश्वराजलाई पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको इप्रका अनारमनीका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए । अभियुक्त घिसिङले अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ ।
विश्वराजको पहाडमा जेठी श्रीमती र २ बच्चासमेत रहेका छन् भने मृतक प्रमिलाको पनि पहिलाको श्रीमानको एक छोरा र एक छोरी र अहिलेको श्रीमानको तर्फबाट आठ बर्षीया छोरी रहेको प्रहरीले जनाएको छ ।



















