काँकडभिट्टा । सवारी दुर्घटनामा परी धुलाबारीमा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१ का सुसाहाङ नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार मंगलबार साढे ७ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर–७ स्थित निन्दा पुलमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे २ प ७०९२ नम्बरको मोटरसाइकललाई सोही दिसा तर्फ जाँदै गरेको मे ५ प १९४३ नम्बरको मोटरसाइकलले ओभरट्याक गर्ने क्रममा आफै अनियन्त्रित भई पुलको रेलिङमा गएर ठोक्किएको थियो ।
पुलमा ठोक्किएको मोटरसाइकललाई पछाडिबाट आएको ७०९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही मोटरसाइकलका चालक नेम्वाङ गम्भीर घाइते भएका थिए ।
टाउको चोट लागेका नेम्वाङलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषित गरेको डीएसपी पाठकले बताए । यता इलाका प्रहरी कार्यालय धुलाबारीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।



















