बिर्तामोड । प्रतिनिधिसभाको सभामुखमा सत्तागठबन्धनबाट नेकपा एमालेका झापा क्षेत्र नम्बर २ बाट निर्वािचत देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । बुधबार संसद् सचिवालयमा उनले प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।
पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेका घिमिरे ०५६ मा राष्ट्रिय सभा सदस्य भएका थिए । अहिले उनी एमालेको स्थायी कमिटी सदस्य छन् ।
सभामुख पदमा एमाले र उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने सत्ता साझेदार दलहरूको सहमति रहेको छ । एमालेमा सभामुखका लागि पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, छविलाल विश्वकर्मा र विद्या भट्टराई चर्चामा थिए ।
सभामुख पदको बिहीबार हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन गर्ने संघीय संसद् सचिवालयको कार्यतालिका छ ।



















