बिर्तामोड । बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँले काँकडभिट्टाबाट नयाँ अभियान सुरु गरेका छन् । प्रसाईँले आमसभा गर्दै नयाँ अभियान सुरु गरेका हुन् । अभियानको पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेका छन् । 

अभियान उद्घाटनमा पुर्वराजा शाह परिवारसहित सहभागि थिए । काँकडभिट्टाको मेची पुलबाट सोमबार दिउँसो प्रसाईंले नागरिक बचाउ महाअभियान सुरू गरेका हुन् । अभियान उद्घाटनमा पुर्व राजा शाहले सम्बोधन भने गरेनन् । दमकमा बस्दै आएका शाह प्रसाईँको कार्यक्रम उद्घाटन गर्न काँकडभिट्टा पुगेका थिए । 

प्रसाईं गत वर्ष मंसिरमा भएको एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका छन् । उनी सशस्त्र युद्धले बिश्राम लिएपछि माओवादीमा लागेका थिए । माओवादीलाई सहयोग गरेको आरोपमा उनलाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेको थियो । 

एमाले र माओवादीबीचको एकता खारेज भएर दुबै पुराना दल ब्युँतिएपछि प्रसाईं एमालेतिर लागेका थिए । गत मंसिरको चुनावमा उनी एमालेबाट झापा–३ मा प्रतिनिधि सदस्यको उम्मेदवार बन्न चाहन्थे । चुनावी प्रचारको तयारीसमेत गरिरहेका प्रसाईंलाई एमालेले उक्त क्षेत्रमा आफ्नो उम्मेदवार  उठाएन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेले समर्थन गर्ने निर्णय गरेपछि प्रसाईं रूष्ट बनेका थिए ।    

प्रसाईंले अभियानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतलाई निम्ता दिएका थिए । झापामै रहेका एमाले अध्यक्ष ओलीसमेत उक्त कार्यक्रममा सहभागी भएनन् । 

अभियान मेचीदेखि महाकालीसम्म हुने जनाइएको छ । काँकडभिट्टामा प्रसाईंको उक्त अभियान कार्यक्रम हेर्न हजारौंको संख्यामा पुगेका थिए । झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरीलगायत जिल्लाबाट मानिसहरू कार्यक्रम हेर्न आएका थिए ।

प्रसाईंले यो अभियानलाई ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउनका लागि महाअभियान’ भनेका छन् । प्रसाईंले मेचीदेखि महाकालीसम्म अभियान अवधिभर दुई लाख जनता कार्यक्रममा सहभागी गराइने दाबी गरेका छन् ।