झापा । अर्जुनधारा नगरपालिका-४ मा रहेको बिन्ध्यावासिनी धाममा महापुराण आयोजना हुने भएको छ । आयाेजकले सातौ अनुष्ठानका रुपमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागेको हो ।

चर्चित पुराण वाचिक राधिका दासीको प्रमुख बाचकत्वमा महापुराण आयोजना हुने भएको हो । चैत्र १० गतेदेखि आयोजना हुने सप्ताहब्यापी महापुराणमा दशाै हजार भक्तजनहरुकाे उपस्थिती रहने दावी आयाेजककाे छ ।
वैदिक सनातन धर्मको संरक्षण र सम्बर्द्धन गर्न महापुराण आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष मनोज जोशीले जानकारी दिए ।
महापुराणमा बचत भएको रकमले अक्षयकोष स्थापना गर्ने उनले बताए । अक्षयकोषको ब्याजले आर्थिक अभाबका कारण स्वास्थ्य उपचार गर्न नसकेका पीडितलाई सहयोग गर्ने नीति बनाईने धामका सचिव एकदेब खनालले जानकारी दिए । उनले अर्जुनधारा जलेश्वर धामदेखि शंकराचार्य पीठ हुँदै बिन्ध्याबासिनी धामलाइ धार्मिक कोरिडोरका रुपमा बिकास गर्नुपर्ने बताए ।
अर्जुनधारा नगरपालिका ४ का वडाध्यक्ष अम्बर कटवालले स्थानीय क्षेत्र प्रबर्द्धनका लागि मन्दिर समितिले आयोजना गरेको यस कार्यलाई सबैले सहयोग गर्नुपर्ने बताए । महापुराणका लागि २० लाख रुपैया खर्च हुने अनुमान आयोजकको छ ।



















