बिर्तामोड । अर्जुनधारा नगरपालिकाले आयोजना गरेको ’१ सय दिने लोकसेवा तयारी कक्षा’ समापन भएको छ ।
सिएससिआई एजुकेशन फाउण्डेसन दमकको सहजीकरणमा भएको लोक सेवा तयारी कक्षामा नगरका ५५ जना युवायुवतीको सहभागिता रहेको थियो । 
समापन कार्यक्रमका अध्यक्ष अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुलीले बिद्यार्थीको लगनशिलता र सहभागीताबाट प्रभावित भएको बताईन । उनले सगरमाथाको आधार शिविरसम्म नगरपालिकाले पुर्याउन सकेको भन्दै पराजुलीले अब आफ्नै मिहिनेतबाट माथि चढ्नुपर्ने बताईन । अर्जुनधारा नगरपालिकाका कर्मचारी कुनै कार्यालयमा कार्यारत रहँदा नगरले पनि त्यसको फाइदा लिने धारणा उनले राखिन ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिताकुमारी राईले सहभागिहरुको उत्साहजनक उपस्थितिले कार्यक्रम सफल भएको बताईन । उनले तालिमको लागि तालिम गरेको नभएर ब्यवहारिक जिवनमा उपयोग गराउन तालिम महत्त्वपूर्ण भएको बताईन ।

सिएससिआइका कार्यक्रम संयोजक राजु गौतमले अधिकांस बिद्यार्थीको रोजाईका प्रशिक्षक ल्याएर तालिम प्रदान गरेको जानाकारी दिए । उनले आगामी एक बर्षसम्म बिद्यार्थी सँग समन्वय गर्ने धारणा राखे । सहभागी बिद्यार्थीले उत्कृष्ट भएर देखाउनुपर्ने उनले बताए ।
नगरपालिकाको सामाजिक बिकास शाखा प्रमुख राजबिक्रम खड्काले भविष्य निर्माणको शुरुवात गराउन सकेको बताए । उनले लोकसेवा आयोग र यसको भुमिका सहभागीलाई बुझाउन तालिम प्रभाबकारी भएको बताए ।
सहभागी सुजाता ढुङगानाले तालिम समापन नभएर निजामति सेवामा प्रवेश गर्ने अवसरको सुरुवात भएको बताईन । उनले तालिम उपलब्धिमुलक भएको भन्दै धन्यवाद दिईन । यश प्रकारको तालिमका लागि अन्यत्र जानुपर्ने बाध्यता नगरपालिकाको सहयोगमा सम्पन्न भएकोमा उनले खुशी ब्यक्त गरिन । कार्यक्रमकोे सञ्चालन पुष्पा पौडेलले गरेकी थिइन् ।



















