बिर्तामाेड । बिर्तामाेड नगरपालिका वडा नम्बर ६ मा कुचो बनाउने तालिम सम्पन्न भएको छ । नगरपालिकालको आर्थिक सहयोगमा सन्देश महिला बंगुर पालन कृषक समुहले आयोजना गरेको तालिम सम्पन्न भएको हो ।
तालिममा शुभ विहानी शेर्मा टोलका २५ जनाको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कुचो सबैका घरमा आवश्यक पर्ने भएकोले तालिम उपलव्धि मुलक बनाउन आग्रह गरिन्। व्यवसायिकरुपमा यो पेशालाई अगाडि बढाउन सकिने भन्दै उनले तालिम उपयोगी बन्नेमा विश्वास व्यक्त गरिन् । तालिम समापन कार्यक्रममा नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाको पनि उपस्थिति रहेको थियो ।
तालिममा सहभागीहरुलाई स्थानीय विरु राईले प्रशिक्षण दिएका थिए । यस क्षेत्रमा कृषकहरु धेरै रहेको र त्यसमा पनि महिलाहरु घरमै बस्ने भएकोले विभिन्न प्रकारका उपयोगी कृषि तालिमको व्यवस्था गर्न तालिम आयोजक समिति संयोजक आइतमाया शेर्माले आग्रह गरिन्। सहभागीहरुलाई नगर प्रमुख प्रसाई र वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले प्रमाण पत्र वितरण गरेका थिए ।