बिर्तामोड । मुलुकको सबैभन्दा ठुलो बिद्यार्थी संगठन अनेरास्ववियु झापा जिल्ला कमिटीको चुनावी सरगर्मी बढेको छ । २१ औं अधिवेसनका लागि बलराम गिरी र नारायण पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने चर्चा चल्न थालेको छ ।
चैत्र २९ गते हुने अधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ । अरेरास्ववियुका एकजना नेताका अनुसार यो पटक सर्बसम्मत नेतृत्व चयन गर्ने सम्भावना छैन । अध्यक्ष पदका लागि बर्तमान उपाध्यक्ष गिरी र सचिव पोखरेलबीच प्रतिष्पर्धा हुने अवस्था छ ।
युवा संघको जिल्ला कमिटी सदस्य हुँदै बिद्यार्थी संगठनमा आएका गिरी हल्दीवारी गाउँपालिकाको बिद्यार्थी संगठनको अध्यक्ष, बिर्तामोडको तत्कालिन देवी(हाल इन्द्रचन्द्र) क्याम्पसको अध्यक्ष, केन्द्रिय सदस्य र हाल जिल्ला कमिटीका उपाध्यक्ष रहेका छन् । १० बर्षदेखि बिद्यार्थी राजनीतिमा सक्रिय गिरी झापा जिल्ला नेतृत्वको लागि पार्टी र सहपाठी बिद्यार्थीको शुभेच्छा रहनेमा बिश्वस्त छन् । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको संगठन निर्माणमा गिरीको भूमिका महत्वपुर्ण रहँदै आएको छ ।
गिरीले झापाको बिद्यार्थी आन्दोलनलाई नेतृत्व गर्न सक्षम भएको दावी गरेका छन् । गिरीले सर्वसम्मत रुपमा आफु आगामी कार्यकालको लागि अध्यक्ष चयन हुने बिशवास व्यक्त गरेका छन् । अध्यक्षमा आकांक्षा राख्ने अरु बिद्यार्थी साथीहरुकोसमेत भरोसा आफुलाई रहेको दावी गिरीको छ ।
गिरी केन्द्रिय सदस्य रहेको समयमा झापा जिल्ला सह–संयोजक रहेका पोखरेल भने हाल झापा जिल्ला सचिव छन् । अध्यक्षका आकांक्षी पोखरेललाई गिरीको लागि बलियो प्रतिष्पर्धी मानिन्छ । इलामबाट राजनीतिक यात्रा शुरु गरेका पोखरेल कनकाई क्याम्पस सुरुङगाका बिद्यार्थी हुन् ।
अधिवेसनमा अनेरास्ववियुको प्रत्येक मावी कमिटीबाट ३, क्याम्पसबाट ५, पालिकाबाट ५ र हालको जिल्ला कमिटीका ३९ जनाले सहभागिता जनाउने छन् । अधिवेसनले आगामी दुई बर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।



















