बिर्तामाेड । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन्छु भन्दै रकम उठाउने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको विहार राज्य दरभंगा जिल्ला अलिनगर ग्राम पञ्चायतका मुकेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

ठाकुरले दमक नगरपालिका–९ काे लक्ष्मी टोलमा डेरा गरी बस्ने तीन जना भारतीयलाई नेपाली नागरिकता बनाइदिने आश्वासन दिएका थिए ।

ठाकुर पनि त्यही वडामा डेरा गरी बस्दै आएका थिए । त्यसवापत ठाकुरले भारतीय नागरिकहरू खगमाया बास्कोटा, सुमन मुखिया र युवराज मण्डलसँग जनही एक एक लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको एसपी रेग्मीले बताए ।

ठाकुरलाई नगद रकम बुझाए पनि नागरिकता नपाउने अवस्था नदेखेपछि ठगिएकाहरूले नै प्रहरीमा उजुरी दिएपछि सो घटना बाहिर आएको हो । पक्राउ परेका ठाकुरले उनीहरूबाट उठाएको रकम शैलेन्द्र भुजेललाई बुझाएको प्रहरीलाई बताएको छ ।

भुजेलले २ महिनाभित्र नागरिकता नबनाइदिए चेकबाट भुक्तानी फिर्ता लिनु भनी आफ्नो खाता भएको बैंकको चेकहरू काटी दिएका थिए । तर, उनले पनि नागरिकता नबनाई दिएको र रकम पनि फिर्ता नगरेको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ ।

ठाकुरलाई ठगी मुद्दामा झापा जिल्ला अदालत भद्रपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपछि जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु भएपछि प्रहरीले यस्तो गिरोह तथा व्यक्तिमाथि निगरानी बढाएको बताइएको छ ।

जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु भएपछि जिल्ला प्रशासन कार्यालय झापाले भीड बढेपछि पालिका छनौट गरी टोकन प्रणाली बमोजिम नागरिकता वितरण गर्दै आएको छ ।