बिराटनगर । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो।
हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। यात्रुहरू पाँचै जना मेक्सिकन नागरिक थिए।
‘६ जनाकै शव फेला परेको छ। एक जनाको शव टुक्राटुक्रा भेटिएको छ। शवहरू जलेको अवस्थामा रहेको खबर आएको छ,’ उनले भने, ‘हेलिकप्टर रूखमा ठोक्किएर दुर्घटनामा परेको देखिन्छ।’
घटनास्थलमा नेपाल प्रहरीका असई निराजन बस्नेतको टोली पुगेको छ। उनी मोटरसाइकलमा घटनास्थलमा पुगेका हुन्।
शव संकलन गर्ने काम भइरहेको डिआइजी बास्तोलाले बताए।
बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। उक्त हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो। तर सम्पर्कविहीन भएको खबर पाएपछि प्रहरीको टोली परिचालन गरिएको थियो।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक श्रेष्ठ र नेपाली सेनाको टोलीसमेत गइरहेको छ।



















