पाँचथर । पाँचथरको हेवा खोलामा बेलिब्रिज निर्माण भएपछि मेची राजमार्गमा सवारी आवागमन सुचारु भएको छ ।
आजबाट हेवा खोलास्थित मेची राजमार्गमा बेलिब्रिज निर्माण सम्पन्न भई यातायात सहजरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरीका अनुसार पुलबाट एकतर्फी मात्र सवारी आवतजावत हुने हुँदा पालैपालो एकतर्फी र एकपटकमा एउटा मात्र सवारीसाधन आवतजावत गरी पुलको प्रयोग हुनेछ । पुलको किनारमा सुरक्षा जोखिम रहेको हुँदा पैदल भई सो पुलको प्रयोग गर्दा विशेष ध्यान पुर्याउन हुन र बालबालिका तथा वृद्धलाई एक्लै सो पुलको प्रयोग गर्न नदिनका लागि जिल्ला प्रशासन कार्यालय पाँचथरले आग्रह गरेको छ ।
गत असार ३ गते आएको अविरल बर्षाका कारण हेवा खोलामा रहेको मोटरेवल पुल बगाई मेची राजमार्ग अवरुद्ध भएको थियो । सोको वैकल्पिक रुपमा हेवा खोलामा तुइन, फड्के तथा अस्थायी डाइभर्सन पुल सञ्चालन गरि सवारी साधनहरुको मुश्किलले आवतजावत भइरहेको थियो ।



















