बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणको प्रक्रियालाई अभियानको रुपमा सञ्चालन गरेकाे छ । नगरपालिकाले सम्बन्धित वडाका जनप्रतिनिधिहरुको अगुवाईमा साउन ६ गते अर्थात आजदेखि यस अभियानलाई अघि बढाएकाे हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा फोहोर व्यवस्थापनको विषयमा बसेको जनप्रतिनिधिहरुको बैठकले फोहोरको समस्या समाधानका लागि विभिन्न निर्णय गरेको थियाे । बैठकले सरसफाई कार्ड अनिवार्य गर्ने, सडक तथा सार्वजनिक स्थलमा फोहोर फ्याल्नेको टोल विकास समिति मार्फत निगरानी बढाउने र दण्ड जरिवाना गर्ने निर्णय गरेको छ । यस्तै, सरसफाई शुल्कमध्ये टोल विकास समितिले १५ प्रतिशत त्यहिको विकासको लागि खर्च गर्न पाउने व्यवस्था गर्नका लागि कार्यपालिकामा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले वर्गीकरण गरिएको कुहिने फोहोर कनकाई बिर्ताअर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीमा पठाउने र नकुहिने फोहोरका लागि उपयुक्त स्थानको खाेजी गरी व्यवस्थापनमा जुट्ने निर्णय गरेको छ । यस्तै बिर्तामोडको फोहोर संकलनको जिम्मा पाएको निराकार सरसफाई प्रालिको अनुगमन गर्ने र कम्पनीको क्षमताको विश्लेषण गरी मुल्याङ्न गर्ने पनि निर्णय भएको छ । बैठकले विगत १ वर्षदेखि फोहोर व्यवस्थापनका लागि निशुल्क जग्गा उपलव्ध गराउने समाजसेवी विवेक प्रसाईलाई धन्यवाद दिएको छ ।
बैठकमा बोल्दै नगर प्रमुख प्रसाईले कनकाई बिर्ताअर्जुन नविकरणीय उर्जामा नकुहिने फोहोर व्यवस्थापनको लागि पनि काम अघि बढेको जानकारी दिएकी छन् । यसको मेशिन खरिदको लागि टेण्डर प्रक्रियाअघि बढेको बताइन् । मेशिन खरिदपछि नकुहिने प्लाष्टिकजन्य फोहोरबाट पेवर्स लगायतका सामग्री उत्पादन हुनेछ । बिर्तामोड नगरपालिकाबाट उत्पादन भएको कुहिने फोहोर नविकरणीय उर्जामा पठाउन थालिएको छ ।
प्रदेश सांसद कमला थापा मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाअध्यक्षहरु अग्निप्रसाद पाण्डे वडा नम्बर १, किशोर पौड्याल वडा नम्बर २, मदन बुढाथोकी वडा नम्बर ३, रोहित प्रसाई वडा नम्बर ५, सूर्यप्रसाद कन्दङ्वा वडा नम्बर ६, अविरल कृष्ण खरेल वडा नम्बर ७, हरि चौलागाई वडा नम्बर ९ र दुर्योधन गुरुङ वडा नम्बर १० लगायत कार्यपालिका सदस्य, वडा सदस्यहरुले फोहोर व्यवस्थापनको समस्या र समाधानको उपायको बारेमा बोलेका थिए ।



















