बिर्तामाेड । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै एक महिलासँग गरेको अनैतिक गतिविधिको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएकाे छ ।

अधिकृतको क्वार्टरमा मदिरा सेवन गरी लठ्ठ भएकी एक महिलाले आफ्नो टिकटक लाइभमै निरौलासँग अनैतिक गतिविधि र संवाद गरेको देखिन्छ । भिडियोमा देखिने महिलाले निरौलालाई श्रीमानको रुपमा सम्बोधन गरे पनि उनी निरौलाकी पत्नी भने नभएको र श्रीमति जस्तै मात्र भएको भनेकी छिन् ।

भिडियोमा महिलालाई अंकमाल गर्दै चुम्बन समेत गरेको देखिन्छ । मदिराले लठ्ठ देखिएका निरौलाका दुई सन्तान र श्रीमती भने काठमाडौंमा बस्दै आएका छन् ।

विगतमा ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएका बेला पनि निरौला यस्तै गतिविधिका कारण कारबाहीमा परेका थिए ।

करिब ५ वर्षअघि झापामा सहायक प्रमुख जिल्ला अधिकारी रहेका बेला उनी जग्गा किर्ते काण्डमा संलग्न भएको पाइएको थियो । निरौलाले भने भिडियो काठमाडौंको एक होटलको पार्टीमा खिचिएको दाबी गरेका छन् ।

दमक नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालले टिकटकमा महिलासँग देखिएको व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला नै भएको दावी गरेका छन् । उनले भने, ‘भिडियोमा देखिएका व्यक्ति निरौला नै हुन, यो क्वार्टरमै त्यस्तो गतिविधि भएको पुष्टी भए दोषीलाई कारबाही हुन्छ ।’

नगर प्रमुख राम थापाले भने घटनाबारे आफू अनभिज्ञ रहेको बताए । निरौला मेयर थापाका नातेदार पनि हुन् ।  सामाजिक सञ्जालमा निरौलाको भिडियो भाइरल बनिरहँदा विभिन्न दलका स्थानीय नेता तथा अगुवाहरूले उनको हर्कतको भर्त्सना गर्दै आलोचना गर्न थालेका छन् ।