इलाम । इलामको सूर्योदयमा श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् । झापा अर्जुनधारा माइत घर भएकी डम्बरकुमारी तामाङको उनका श्रीमानले हत्या गरेका हुन् ।
सूर्योदय नगरपालिका २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरको साविक सुभाङ १ हाल हिलिहाङ ७ घर भएका चेपाङे भनिने पूर्णबहादुर तामाङले आफ्नै कान्छी श्रीमतीको हत्या गरि फरार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डिएसपी प्रकाश जवेगुका अनुसार हिजो बेलुका ९ बजेतिर अन्दाजी ५० वर्षका पूर्णबहादुरले अन्दाजी ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनका अनुसार सामान्य झगडाका कारण पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडीपट्टिको भागमा धारिलो हतियार बामफोकको प्रयोग गरि हत्या गरेको बताइएको छ ।
पूर्णबहादुर कान्छी श्रीमती डम्बरकुमारीसंग सूर्योदय नगरपालिकामा डेरा गरी बस्दै आएका थिए । उनले तीन महिनाअघि अर्काकी श्रीमती डम्बरकुमारीलाई भगाएर लगेका थिए । डम्बरकुमारीको माइत झापाको अर्जुनधारा ११ हो ।
पूर्णबहादुरकी जेठी श्रीमती हिलिहाङमा बस्दै आएको जनाइएको छ । फरार पूर्णबहादुरका बारेमा खोजतलास भइरहेको डीएसपी जवेगुले बताए ।




















