बिर्तामोड । बिर्तामोडको प्रमुख समस्याका रुपमा रहेको फोहोर ब्यवस्थापनमा व्यवसायीकै असहयोग रहने गरेको छ । व्यबसायीले रातको समयमा राजमार्ग किनारमा फोहोर फाल्ने गरेकाले नगरपालिकाले अघि सारेको स्वच्छ नगर बनाउने योजना अलपत्र पर्ने सम्भावना बढेको हो । 

kadam

प्रतिष्ठित ब्यवसायीले नै नगरपालिकामा जथाभावी फोहोर पल्ने गरेको पाइएको छ । हल्दीवारी गाउँपालिकाका पुर्व उपप्रमुख डम्बर गिरीले सञ्चालन गरेको ‘साल्ट एण्ड पेपर रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर’ मा उत्पादित फोहोर राजमार्गमा फाल्दै गरेको अवस्थामा नगर प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ ।  

होट नजिकै रहेको राजमार्ग किनारमा फोहोर फाल्दै गरेका राजु शासंकरलाई ठेलासहित नगर प्रहरीले पक्राउ गरेको हो । शासंकरलाई ठेलासहित कारवाहीका लागि नगरपालिका बुझाइएको नगर प्रहरी महेन्द्र पाण्डेले जानकारी दिए । 

यसैगरी बिर्ता सिटी हस्पिटलमा रहेको क्यान्टिनको फोहोर फाल्दै गरेको एउटा पिकअपलाई नगरप्रहरीले नियन्त्रणमा लिएको छ । को १ च ३२४ नम्बरको पिकअपलाई फोहोर फाल्दै गरेको अवस्थामा पक्राउ गरी नगरपालिका बुझाइएको नगर प्रहरी प्रमुख किरण पाण्डेले बताए । बिर्ता सिटी हस्पिटलको क्यान्टिन ब्यवसायी भोला शाहले सञ्चालन गरेका छन् । 

जथाभावी फोहोर फाल्नेलाई नगरपालिकाले ५ हजार देखि १५ हजारसम्म जरिवाना गराउने गरेको छ । दोस्रो पटक पनि फोहोर फालेको पाइएमा ५० हजार रुपैंयाँसम्म जरिवाना गर्ने प्रावधान रहेको छ । यसअघि पनि बसपार्क नजिकै सडकमा फोहोर फाल्दै गर्दा नगर प्रहरीले सवा।री साधन नियन्त्रणमा लिएको थियो ।

बिर्तामोडको फहोर संकलनको जिम्मा निराकार सरसफाई सेवा नामको कम्पनीले लिएको छ । सो कम्पनीले मासिक रुपमा शुल्क लिएपनि फोहोर संकलनका लागि गाडी पठाउने नगरेको स्थानीयको गुनासो रहेको छ । नियमित रुपमा फोहोर संकलन गर्ने गाडी नआउँदा ब्यवसायी बाध्य भएर सडक किनारमा फोहोर फाल्दै आएका छन् । 

साल्ट एण्ड पेपर रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरका सञ्चालक डम्बर गिरीले नगरपालिकामा फोहोर संकलन गर्ने गाडी नआएको बिषयमा पटक–पटक जानकारी गराउँदासमेत बेवास्ता गरेपछि बाध्य भएर ठेला चालकलाई पैसा दिएर फोहोर ब्यवस्थापन गर्न लगाएको बताए । उनले ठेला चालकले फोहोर कहाँ फाल्ने भन्ने कुराको जवाफदेहि आफु हुन नसक्नेसमेत बताए । ‘मैले नगर प्रमुख, उप–प्रमुखलाई धेरै पटक यो समस्या समाधान गर्नका लागि अनुरोध गरे–‘गिरीले भने–‘उहाँहरुले बेवास्ता गरेपछि ठेला चालकलाई पैसा दिएर फाल्न लगाएको हुँ । फोहोर गनाएर होटलमा बस्न नसक्ने भएपछि मेरो उपाय नै के रहन्छ र ?’

बिर्तामोडमा सयौं होटल, दर्जनौ हस्पिटल, सयौको संख्यामा व्यबसायिक प्रतिष्ठान रहेका छन् । सचेत बर्ग नै फोहार व्यबस्थापनप्रति जिम्मेवार नभएको पाइएको छ । केही रकम दिएर साना सवारी साधन प्रयोग गरी सार्वजनिक स्थलमा फोहोर फाल्न पठाउने गरेकाले राजमार्ग आसपास दुर्घन्ध बढ्दै गएको छ । सचेत बर्ग नै जिम्मेवार नबन्दा शहरको सौन्दर्य कुरुप बन्दै गएको छ ।