बिर्तामाेड । सरकारले झापाकाे बीएण्डसीसहित २ वटा निजी स्वास्थ्य संस्थालाई  स्वास्थ्य बीमा प्रदान गर्ने सूचीबाट हटाइएको छ । स्वास्थ्य बीमा बोर्डको बैठकले ती स्वास्थ्य सस्थालाई सुचीबाट हटाएकाे हाे । 

बीएण्डसीसहित झापाका दुईवटा अस्पताल बीमा बाेर्डकाे सुचीबाट हटेका छन् ।  लाइफ लाइन अस्पताल दमकलाई समेत स्वास्थ्य बीमा प्रदान गर्ने सुचीबाट हटाइएकाे हाे । 

आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको बीमा बोर्डले जनाएको छ ।

सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने घोषणा गरेको थियो । प्रतिनिधिसभाबाट १३ असारमा पास भएको आर्थिक वर्ष २०८०/८१ को बजेटको बुँदा नं. २३८ मा ‘सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने’ उल्लेख छ ।

झापाका दुईसहित मुलुकभरका २६ स्वास्थ्य सस्थालाई स्वास्थ्य बीमा प्रदान गर्ने सुचीबाट हटाइएकाे जनाइएकाे छ । मुलुकमा ५२ वटा निजी स्वास्थ्य सस्थाले याे सुविधा प्रदान गर्दै आएका थिए । अब क्रमश  निजी स्वास्थ्य सस्थाबाट याे सेवा प्रदान गर्ने सुचीबाट हटाउने स्वास्थ बीमा बाेर्डले जनाएकाे छ ।