मकवानपुर । बिरामीका आफन्तबाटै असुरक्षित रहेको भन्दै हेटौडाका विभिन्न अस्पतालमा कार्यरत ७८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।

बिरामीको उपचार गरिरहेका बेला चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन्। हेटौंडा अस्पतालका सबै ७८ चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिएका हुन्। उनीहरुले आजदेखि जिल्लामा आकस्मिकबाहेक सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

बुधबार बिहान हेटौंडा–१ भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिक आक्रमण भएको थियो। आक्रमणमा परी एनेस्थेसिया डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापा घाइते भएका छन्। बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ । थापा उपचारका लागि काठमाडौं गएका छन् ।

डेंगीका कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन्। साउन २२ गते सञ्चो अस्पतालमा भर्ना गरिएका प्रधानको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भोलिपल्ट चितवन रेफर गरिएको थियो।
प्रधानलाई दोस्रो पटक डेंगी संक्रमण पुष्टि भएको थियो भने उनी मधुमेह र उच्च रक्तचापका पनि बिरामी थिए । उनको साउन २५ गते चितवन मेडिकल कलेजमा उपचार क्रममा निधन भएको थियो। कुटपिटमा संलग्न चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

यसैबीच हेटौंडास्थित सञ्चो हस्पिटलका चिकित्सकहरूमाथि कुटपिट गर्ने घटनामा संलग्न ४ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । चौतर्फी दबाबसँगै चिकित्सकहरूले आन्दोलनको घोषणा गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । एक महिनाअघि डेंगी संक्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै आफन्तहरू आक्रामक भएका हुन् । डेंगी संक्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।