दमक । रुखमा चढेर घाँस काट्ने क्रममा शिवसताक्षीमा एकजना वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका- ८ स्थित रत्नचौक निवासी ७५ वर्षीय सन्तबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तामाङ आइतबार बिहान साढे ७ बजेतिर घरनजिकको खरीको रुखमा बाख्राका लागि घाँस काट्न चढेका थिए ।
घाँस काट्दै गर्दा उनी एक्कासि बेहोस भई रुखको हाँगाको कापमा अड्किएका थिए । रुखमुनि बसेर घाँस बटुल्दै गरेका श्रीमती फुलमाया तामाङ र छोरा कुमार दोर्जे तामाङले घटनापछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।
रुखमा चढेर निकाल्न सक्ने अवस्था नदेखेपछि जेसिबीको सहायताले तामाङलाई निकाल्दा उनको मृत्यु भएकाे पाइएकाे प्रहरीले जनाएको छ । तामाङलाई उच्च रक्तचापको समस्या थियो ।



















