बिर्तामोड । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो। उनीहरु विद्यार्थी हुन् । 

‘करिब १० जना नेपालीको हताहती भएको देखिएको छ। हामी यकिन संख्या र उनीहरू विस्तृत विवरण पुष्टि गरिरहेका छौं,’  परराष्ट्र स्रोतले भन्यो, ‘मृतकको शव संकलनको काम भइरहेको छ।  शवहरू नेपाल ल्याउने विषयमा भोलि बैठक बसेर निर्णय गर्छौं।’

हमासले गरेको आक्रमणमा विशेष गरी सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका छन्।

शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो।

आक्रमणमा केही नेपालीहरू घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

आइतबारको संसद बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले  इजरायलमा केही नेपाली हताहत भएको बताएका थिए।

मन्त्री साउदले संसदमा दिएको जानकारीअनुसार इजरायलमा अहिले चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेका छन् भने दुई सय ६५ जना विद्यार्थी अध्ययनरत छन्।
हमासले शनिबार गरेको आक्रमणको जवाफमा इजरायलले पनि जवाफी आक्रमण गरिरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुबै पक्षका गरी ५ सयभन्दा बढी मानिसले लडाइँमा ज्यान गुमाएका छन्।