भद्रपुर । साइकलको सिटमुनि रहने फलामे पाइपभित्र लुकाइछिपाई ब्राउनसुगर ल्याउने चार जना भद्रपुरबाट पक्राउ परेका छन् ।

भद्रपुर - Copy (1)

पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–२ हिमालीका निसान लिम्बू, सोही ठाउँका रिवज रनपहेली, दमक नगरपालिका– १का रुस्बिन लिम्बु भनिने विवेक फियाक लिम्बु र दमक– २ का निश्चल भन्ने विक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

मङ्गलबार साँझ ५.४५ बजेको समयमा मेचीखाेलाकाे झोलुङ्गे पुलमा प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका निसान र रिवजलाई रोकेर चेकजाँच गर्दा उनीहरुले लागूपदार्थ सेबन गरेको जस्तो देखिएको थियो ।

दुवैलाई अनुसन्धान गर्दा दमक वडा नं. १ बस्ने रुस्बिनले साइकल बुझ्न आएकोले शंका लागेर उक्त साइकललाई चेकजाँच गर्दा साईकलको सिटमुनि सिट स्टेण्ड फलामभित्र लुकाई छिपाई राखेको १४ ग्राम १५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

थप अनुसन्धान गर्दा उनीहरुको साथी निश्चलसमेत संलग्न रहेको भनि खुलेपछि खोजतलास गर्ने क्रममा उनलाई भद्रपुर बजारमा फेला पारिएको थियो । चारै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी रिजालले बताए ।