बिर्तामाेड । झापाकाे पुरानाे बजार शनिश्चरेमा सुविधायुक्त सार्वजनिक शौचालय सञ्चालनमा आएको छ ।

अर्जुनधारा नगरपालिका ८ स्थित शनिश्चरे बजारमा शौचालय निर्माण भएर सञ्चालनमा आएको हो ।

वर्षौंदेखि सार्वजनिक शौचालयविहीन अवस्थामा रहेको शनिश्चरेमा सुविधायुक्त आधुनिक शौचालय सञ्चालमा ल्याइएको हो । यस शौचालय, नमुना शौचालय भएको दाबी गरिएको छ । 

शौचालयमा महिला र पुरुषलाई शौचालयसँगै नुहाउनका लागि चिसो तातो पानीका लागि गिजरको व्यवस्था, ह्याण्ड ड्रायर, कमाेट र प्यान, बालमैत्री तथा अपांगमैत्री भवन निर्माण गरिएको अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले जानकारी दिए । 

उनका अनुसार महिलाका लागि सेनेटरी प्याडको व्यवस्था पनि शौचालयभित्रै गरिएको छ । ‘अन्य स्थानका शौचालयमा नुहाउने व्यवस्था भए पनि बाल र अपांगमैत्री छैन’, उनले भने, ‘सेनेटरी प्याड, ह्याण्ड ड्रायर र गिजरको व्यवस्था पनि छैन, शनिश्चरेमा छ ।’ 

शौचालयभित्र ऐनासँगै सिलिङ पंखाको पनि व्यवस्था मिलाइएको छ । नगरबाट विनियोजित २५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएकाे शाैचालय सञ्चालनमा आए पनि औपचारिक उद्घाटन भने गरिएको छैन । 

वडाका लागि छुट्याइएको बजेटबाहेक भित्री शृंगार, गिजर, पानीटंकी, मोटर र विद्युत् जडान वडा कार्यालयले व्यवस्थापन गरेको वडाध्यक्ष उप्रेतीले जानकारी दिए । सीमित बजेटमा पनि उत्कृष्ट कार्य गर्न सकिन्छ भन्ने उदाहरण यसै शौचालयबाट लिन सकिने उनको भनाइ छ ।