बिर्तामोड । बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईले इलामको दानावारीमा गर्न लागेको कार्यक्रममा नेकपा एमालेनिकट युवा संघका कार्यकर्ताहरुले अवरोध पुर्याएका छन् ।

युवा संघका कार्यकर्ताहरुको कडा अवरोधका कारण प्रसाईले इलाम दानाबारीको शुक्रवारेमा दुर्गा माताको मूर्ति प्रतिष्थापन गर्ने कार्यक्रम स्थगित गरेका छन् । दानाबारीमा निर्माण गरिएको दुर्गा मन्दिरमा ९ दिनसम्म पुराण लगाएर आज फूलपातीका दिन प्रसाईले दुर्गा माताको मूर्ति प्रतिष्थापन गर्न लागेका थिए । दानाबारी जाने सडकको सुखानीमा युवा संघका कार्यकर्ताहरुले विहानैदेखि टायर बालेर अवरोध गरेका थिए । उनीहरुले कुनै पनि हालतमा कार्यक्रमस्थलमा जान नदिने चेतावनी दिएपछि प्रसाईले बाध्य भएर कार्यक्रम स्थगित गरेका हुन् । आफूले २५ लाखको लागतमा निर्माण गरेको मूर्ति प्रतिष्थापन गर्न खोज्दा एमालेले अवरोध गरेर राम्रो नगरेको प्रसाईले प्रतिक्रिया दिएका छन् । उनले अब त्यस मन्दिरमा मूर्ति नराख्ने बताए ।




















