बिर्तामोड । भारतका नागरिकले झापामा डेरा लिएरै लागू औषधको कारोबार गर्ने गरेको फेला परेको छ । प्रहरीले बिर्तामोडको बसपार्कबाट लागू औषध ब्राउन सुगरसहित तीनजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएपछि यस्तो खुलेको हो ।

प्रहरीले बिषेश सूचनाका आधारमा बिर्तामोडको नयाँ बसपार्कबाट भारत राज्य बिहार जिल्ला अररिया बतनाहा भटयाही वडा नं।२२ घर भएका प्रियन्सु कुमार मण्डल, भारतको जोगवनी खजुरवाडी वडा नं।१५ घर भएका मोहम्मद लाल भन्ने साहिल सेख र सोही स्थानका मोहम्मद काजीम आलमलाई पक्राउ गरेको जनाएको छ ।

झोलामा लुकाएको अवस्थामा १४ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जानकारी प्रहरीले दिएको छ । उनीहरुले भारतबाट लागू औषध ल्याएर डेराबाटै बिक्री गर्ने गरेको पाइएको छ । प्रहरीले नेपालमा लागू औषध बिक्री गर्ने भारतीय गिरोह नै नियन्त्रणमा लिएको जनाएको छ । 

यसैगरी बिर्तामोड–भद्रपुर रोडमा मंगलबार दुर्घटना भएको मोटरसाइकल चालकसँग समेत ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । 

बिर्तामोड नगरपालिका–८ मा आफै अनियन्त्रित भई दुर्घटनामा परेको मोटरसाइकल चालक बिर्तामोड–२ का प्रतिक राईको साथबाट समेत ब्राउन सुगर फेला परेको छ । राईको साथबाट ३ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीले उनी सवार मे ३ प ६४०३ नम्बरको मोटरसाइकलसहित राईलाई नियन्त्रणमा लिएको जनाएको छ । तीन भारतीयसहित चारैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसंधान गरिरहेको प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।