बिर्तामोड । १० वर्षदेखि बिरिङ खोलाको किनारमा छठ पूजा गर्दै आएको श्री छठ समाज सेवा समिति बिर्तामोडले यस वर्ष पनि छठ पूजाको तयारी तीब्र पारेको छ ।

चार सयभन्दा बढी पण्डालसहित सामूहिक छठ पूजाको तयारी गरिएको समितिले पत्रकार सम्मेलन गरी जनाएको छ । एउटा पण्डालमा दुईवटा डाला रहने छन् । समितिले आजसम्म पूजाको ८० प्रतिशत तयारी पूरा भएको जनाएको छ । प्रत्येक वर्ष भक्तालुहरुको संख्या बृद्धि हुँदै गएकाले अझ व्यवस्थित र व्यापक रुपमा छठ पूजा आयोजना गर्नु परेको समितिका अध्यक्ष रामेश्वर द्विवेदीले बताए । पूजाका लागि घाट , टेन्ट , सुरक्षा , बिजुलीलगायतका व्यवस्था भइरहेको वरिष्ठ उपाध्यक्ष तथा प्रचारप्रसार समिति संयोजक संगीता रौनियारले बताइन् ।

आजबाट शुरु हुने छठ पूजा सोमवार समापन गरिने रौनियारले जानकारी दिइन् । ब्रतालुले ३६ घण्टा लामो निर्जल ब्रत बसेर पूजा आराधना गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर सोमवार विहान यस बर्षको छठ पर्व समापन हुने रौनियारले बताइन् ।छठ पूजा सम्पन्न गर्न विभिन्न उपसमितिहरु बनाएर जिम्मेवारी बाँडफाँट गरिएको छ ।

संगीता रौनियारको संयोजकत्वमा पाँच सदस्यीय प्रचारप्रसार समिति, शंकर भगतको संयोजकत्वमा सात सदस्यीय घाट तथा बिजुली व्यवस्थापन समिति, अशोक चौधरीको संयोजकत्वमा सात सदस्यीय अर्थ समिति, मनोज साहको संयोजकत्वमा पाँच सदस्यीय मञ्च व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम समिति, प्रेमचन्द्र चौधरीको संयोजकत्वमा तीन सदस्यीय शान्ति सुरक्षा समिति र सत्यनारायण चौधरीको संयोजकत्वमा तीन सदस्यीय प्रसाद व्यवस्थापन समिति निर्माण गरिएको महासचिव अशोक चौधरीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष राजकुमार गुप्ता, पूर्व अध्यक्ष प्रेमचन्द चौधरी, घनश्याम चौधरी, कार्यक्रम संयोजक मनोज रौनियार, लेखा समितिका अनन्तलाल महत्तो, उपाध्यक्ष शंकर भगत, मनोज चौधरी, प्रचारप्रसार समितिका सह–संयोजक शत्रुधन गुप्ता, विक्की चौधरीलगायतको उपस्थिति रहेको थियो ।