भद्रपुर । धावनमार्गमा स्याल देखिएपछि झापाको भद्रपुरमा बुद्ध एयरको जहाजले ओभरसुट गर्नु परेको छ ।

भद्रपुर विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीका अनुसार करीव ७ बजे काठमाडौंबाट चन्द्रगढी आएको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा स्याल देखिएको थियो ।

धावनमार्गमा स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको थियो । सोही अनुसार जहाजले ओभरसुट गरेको उनले जानकारी दिए ।‘धावनमार्गमा स्याल पसेको पाइएपछि मिस अप्रोच गर्न भनेका थियौं,’ उनले भने, ‘स्याल धपाएपछि मात्रै बुद्ध एयरले नर्मल अवतरण गर्‍यो ।’

जहाजलाई ओभरसुट गराएसँगै विमानस्थलमा स्याल धपाउने काम गरिएको उनले जानकारी दिए । यो विमानस्थल जंगली जनावरको बढी गतिविधि हुने विमानस्थलमा पर्छ ।