बिर्तामोड । स्वीकारोक्ति फाउण्डेसनले नेपाली साहित्यका अग्रज व्याक्तित्व लीलबहादुर क्षेत्रीलाई ६ लाख रुपैंयाँको ‘स्वीकारोक्ति सिद्धी पुरस्कार’ प्रदान गर्ने भएको छ । 

‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ भन्ने नारासहित नेपाल र भारतका नेपाली समुदाय बसोबास गर्ने स्थानको भ्रमणमा निस्किएको टोलीले चर्चित उपन्यास बसाईँका सर्जकसमेत रहेका क्षेत्रीलाई पुरस्कार प्रदान गर्ने भएको हो । भारतको आसाममा एक कार्यक्रम गरी साहित्यकार क्षेत्रीलाई पुरस्कृत गरिने भएको हो । 

फाउण्डेसनले ‘स्वीकारोक्ति बिश्व शान्ति यात्रा २०२३’ ले वाताबरण तथा बिश्व शान्तिको सन्देश प्रवाह गर्ने बिश्वास आयोजकको रहेको छ । अभियानले साइकल यात्रा, सडक मावनलाई खाद्यान्न प्रदान जस्ता काम गरिसकेको छ । झापाको बिर्तामोडमा मंसिर १४ गते चर्चित कवि  नवराज पराजुलीको कविता, प्रदीप रोदनको गजल तथा गायक पुष्पन प्रधानको सांगितिक प्रस्तुतीसहित स्वीकारोक्ति अभियान सञ्चालन गरिने भएको कार्यक्रममा जानकारी दिइएको छ । 

पृथ्वी रहे मानव अस्तित्व रहन्छ भन्ने मुल नारासहित आयोजित यात्राका क्रममा धरानमा बृक्षरोपण गरिनेसमेत बताइएको छ । वाताबरण संरक्षण गर्ने प्रमुख उदेश्य संस्थाको रहेको अध्यक्ष डेन्जोम साम्पाङले जानकारी दिए । 

अमेरिकाको पेन्सिलभेनियामा प्रधान कार्यालय रहेको संस्थाले प्रत्येक बर्ष विश्व शान्ति यात्रा आयोजना गर्ने र यो यात्रा नेपाली मुलका नागरिक बसोबास गर्ने अरु देशमा पनि गर्दै जाने कार्यक्रम रहेको संस्थाका अन्तराष्ट्रिय सम्बन्ध समितिका संयोजक कर्ण गुरुङले जानकारी दिए ।