शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको घर जग्गा किर्ते प्रकरणको छानविनका लागि कार्यपालिकाबाट गठित समितिले प्रतिवेदन बुझाएको छ ।

कार्यपालिकाको शुक्रबारको बैठकमा छानविन समितिका संयोजक वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले नगर प्रमुख मेघाहाङ थोप्रालाई प्रतिवेदन बुझाएका हुन् । सो समितिमा कार्यपालिका सदस्य कुमार राई र ईन्जिनियर उत्तम बराल सदस्य छन् ।

‘लामो समयको अध्ययन, अनुसन्धान र सन्दिग्ध व्यक्तिहरुको बयानका आधारमा प्रतिवेदन तयार पारेर नगरप्रमुख मार्फत शुक्रबारको कार्यपालिकाको बैठकमा बुझाइको छ,’ छानविन समितिका संयोजक फेउदिनले भने,‘अब बस्ने कार्यपालिकाको बैठकमा प्रतिवेदन सार्वजनिक गरिने नगर प्रमुखले हामीलाई जानकारी दिनुभयो ।’

नगरको घर नक्सा शाखाको वेथिती छानविनका लागि समिति गठन भएपछि पीडितले सो साखामा लिखित उजुरी दिएका थिए । उजुरीका आधारमा पीडित र आरोप लगाइएका कर्मचारी संग समितिले लिखत र मौखिक बयान लिएको थियो । प्रतिवेदनमा जोडिएका कर्मचारीको नाम, पद र संख्या उनले उल्लेख गर्न चाहेनन् । 

कार्यपालिकाको जेठ ७ गतेको वोर्ड बैठकले छानविन समिति गठन गरेको थियो । सो समितिले जेठ ८ देखि काम सुरु गरेको थियो । झन्डै ६ महिना पछि तयार भएको प्रतिवेदनले जो कोही दोसी छन् उनिहरुलाई कानुनी कार्वाहीका लागि कार्यपालिकामा सिफारिस गरिएको सो समितिले जनाएको छ । दोसी उपर कार्वाही हुने, नहुने विषयमा आफु समितिको संयोजक भएको हैसियतले त्यसविषयमा अनविज्ञ रहेको संयोजक फेउदिनले बताए । उनले भने, ‘कार्यपालिकामा छलफल हुन सक्छ । त्यसपछि भनौला ।’

सामाजिक संजाल लगायत संचार माध्यममा शिवसताक्षी नगरपालिकाको घर नक्सा साखामा भएको अनियमिताको घटना बाहिरिए पछि दोसीलाई कार्वाही हुनुपर्ने माग सामाजिक संजालमा चुलिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, रास्वपा लगायतका राजनीतिक दलले दोसी उपर कार्वाही गर्न कार्यपालिकाले खुट्टा कमाउन नहुने बताएको छ । 

नेपाली कांग्रेसका नेता पर्शुराम ढुँगानाले घटना संग जोडिएका जो कोही भएपनि कार्वाही गरेर भ्रष्टचार मुक्त नगर बनाउन नगरप्रमुखलाई अनुरोध गरे । ढुंगाना ०७४ र ०७९ को स्थानिय तहको निर्वाचनमा शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । 

नेकपा माओवादीका महेन्द्र भट्टराईले भ्रष्टचार मुक्त नगरबनाउन सबै राजनीतिक दल एक ठाँउमा उभिनु पर्ने बताए । उनले भने,‘ यो प्रकरणमा जोडिएका जो होस् नगरबासीले कार्वाही भएको सुन्न र हेर्न चाहेका छन् ।’ त्यसकारण भ्रष्टचारका विषयमा कसैसंग कम्प्रमाईज नगर्न कार्यपालिकालाई उनले अनुरोध गरेका छन् ।

यस्तै संचार माध्यममा प्रतिकृया दिदै रास्वपाका नगर अध्यक्ष तुलसी खनालले दोसीलाई बचाएर जनतालाई दुख दिने काम गरिए राश्वपा आन्दोलनमा उत्रने बताए । उनले भने,‘ यो घटनालाई हाम्रो पार्टीले नजिकबाट नियालेको छ । प्रतिवेदन आउँछ की आँउदैन भन्नेमा हामीलाई शंका थियो । अब, समितिले प्रतिवेदन बुझाएपछि सबैले देख्ने र सुन्ने गरि बाचन गरेर दोसी देखिएका जो कोहीलाई पनि कार्वाही गरिनुपर्छ ।’