अर्जुनधारा । चारआलीबाट ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा अर्जुनधारा नगरपालिका वडा नं.११ बस्ने मनिश मोक्तान र सोही ठाउँ बस्ने रीग बहादुर दर्जी रहेका छन् ।

गएराति १०.४५ बजे मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीस्थित पूर्व पश्चिम राजमार्गमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे.५ प.३६४८ नं.को मोटरसाईकल चालक मोक्तान र सोही मोटरसाईकल पछाडी सवार दर्जीलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १०० ग्राम १५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

मोटरसाईकलसहित दुवैलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलावारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।