बिर्तामोड । नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको अध्यक्षमा सन्तोष अग्रवाल चयन भएका छन् ।

झापाको दुर्गापुरमा सम्पन्न प्रतिष्ठानको अधिवेशन सहितको साधारण सभाबाट अग्रवालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।


रोटरी क्लव अफ विर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका कोशी प्रदेश कार्यसमितिका वर्तमान उपाध्यक्ष सहित विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गरिसकेका सामाजिक अभियन्ता अग्रवालको नेतृत्वमा प्रतिष्ठानले थप उचाई प्राप्त गर्ने विश्वास गरिएको छ ।


प्रतिष्ठानको विधान अनुसार कार्यसमितिमा निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, दुईजना उपाध्यक्ष शुभ कुमाई पाठक र लुवराज उप्रेती चयन भएका छन् । त्यस्तै सचिवमा उषा श्रेष्ठ, सहसचिवमा रामप्रसाद निरौला, कोषाध्यक्षमा विनोद चापागाईँ र सहकोषाध्यक्षमा ससिम पोखरेल सर्वसम्मत रुपमा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमशः लक्षेन्द्रप्रसाद यादव, दिनेशकुमार पोखरेल, रत्ना बुढाथोकी रहेका छन् । समितिको पहिलो बैठकले डिल्लीराम मैनाली र कमलप्रसाद कोइरालालाई समेत सदस्यमा मनोनित गरी १३ सदस्य कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।

नयाँ नेतृत्व चयनकालागी डिल्लीराम मैनालीको संयोजकत्वमा प्रतिष्ठानका संस्थापक अध्यक्ष डा.सि.पी. यादव र निवर्तमान अध्यक्ष कुमारमणी पोखरेल सदस्य रहेको निर्वाचन समितिले भुमिका खेलेको बताइएको छ ।

साधारण सभा सम्पन्नसँगै बसेको कार्यसमितिको पहिलो बैठकले समितिलाई पूर्णता दिँदै भावी योजनाका बारेमा छलफल भएको नवनिर्वाचित अध्यक्ष अग्रवालले जानकारी दिए ।

प्रतिष्ठानको लक्ष्य अनुसार नयाँ योजनाका साथ सबैसँग सहकार्य गरेर अघि बढ्दै संस्थालाई थप उचाईमा पुर्याउँने नवनिर्वाचित अध्यक्ष अग्रवालले प्रतिवद्धता व्यक्त गरेका छन् ।

साधारणसभामा अध्यक्ष पोखरेलले आफ्नो नेतृत्वमा संस्थाबाट भएका विभिन्न गतिविधिका बारेमा जानकारी गराएका थिए । प्रतिष्ठानले ग्रामिण क्षेत्रका विपन्न वर्ग र समुदायमा लक्षीत गरी मुटु रोगसँग सम्बन्धित निशुल्क स्वास्थ्य शिविर, सचेतना साथै अन्तरक्रियामुलक कार्यक्रम संचालन गर्दै आएको सभामा जानकारी गराइएको थियो । विभिन्न क्षेत्रमा भएका स्वास्थ्य शिविरबाट थप उपचार गर्नु पर्ने मुटु रोगसँग सम्बन्धित ७ जना बिरामीहरुलाई थप उपचारकालागी केन्द्रमा सिफारीस गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

प्रतिष्ठानकी उपाध्यक्ष शुभ कुमाई पाठकले स्वागत मन्तव्य राखेको साधारण सभामा संस्थापक अध्यक्ष डा.सि.पी.यादवले सुझाव सहितको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सचिव लुवराज उप्रेतीले गरेका थिए ।